राउटेमाथि भयो यसरी आक्रमणः ‘राउटे’ अव रहेनन् ‘राउटे’

दीपेन्द्र ओली ।

राउटे को हो ?, के हो राउटे ? राउटे नेपालको धेरै विविधताभित्रको एउटा आफ्नै मौलिक विविधतायुक्त समुदाय हो । धेरै अचम्म नमानौँ वा अचम्म मानेजस्तो पनि नगरौँ । यो समुदायमा पनि मान्छे नै बस्छन् । जहाँ शाही ठकुरी जातका नागरिक छन् । शाही ठकुरीभित्र पनि कलेल, राष्कोटी र स्ववंशी । राउटेको आफ्नै किसिमको जीवनशैली छ । राउटे कहाँका स्थानिय नागरिक ? भनेर पनि बहस नगरौँ । उनीहरु नेपाली नै हुन्, नेपालमै बस्छन् र उनिहरु बस्ने साविकको मध्यपश्चिमाञ्चल क्षेत्रका वन जंगल नै हुन् । हामीले थाह पाएको राउटेले कहिल्यै पनि झुटो बोल्दैनन् । उनीहरु बचनका पक्का हुन्छन् र अरुबाट पनि पक्का बचनको अपेक्षा गर्दछन् । उहिले उहिले राउटे आफ्ना काठ्यवस्तु ल्याएर बजारिकणका लागि हाम्रो घरमा आउँथे । उनीहरु वचनका पक्का थिए । एक पटक केही कुरा बोले बोली फिर्ता गर्थेनन् हामी जस्तो । उनीहरुले जति ठूलो काठको भाँडो ल्याउँथे त्यही भाँडोमा भरेर अन्न लिएर जान्थे वा त्यही भाँडोको फेरो लगाएर कपडा दिनुपथ्र्यो । हाम्रो समुदाय र उनिहरुको संस्कृती फरक त थियो नै तर सम्वन्ध मित्रवत् थियो । उनीहरु पहिला ‘रकम/पैसा छुन हुँदैन, पाप लाग्छ’ भन्थे । ‘जाँडरक्सी खानु हुँदैन देवता रिसाउँछन्’ भन्थे । बजारका सामान किनेर प्रयोग गर्दैनथे । आफ्नो लागि आफैले उत्पादन गर्थे । अर्को अर्थमा भनौँ कि उनीहरु आत्मनिर्भर थिए । तर अहिले अवस्था बदलिएको छ । अव राउटेहरु साँच्चिकै राउटे रहेनन् । आफ्नो सीपले काठका सामग्री तयार गर्न जाँगर मरिसक्यो । जसका कारण राउटेहरु ‘माग्ने’ भइसके । काम गर्न छोडिसकियो, खानु त पर्‍यो । राउटेहरु फरक समुदायका मानिस देख्नासाथ रकम/पैसा माग्न सुरु गरिहाल्छन् । जाँडरक्सी राउटे समुदायका नागरिकको नियमित सेवन गर्ने पानीसरह बनिसक्यो । चाहे बालक वा युवा, बुढाबुढी नै किन नहुन् सवैजसो रक्सीमा मात्तेको अवस्थामा भेटिन्छन् । उनीहरुलाई बचन र अडानका पक्का होइन पैसा र रक्सीका लागि जे पनि भनिदिने र जे पनि गरिदिने खालको एक प्रकारको ‘हाउडे’ बनाइयो ।
नेपाल धेरै जातजाति, धर्म, संस्कृती, रितिरिवाज, चालचलन, परम्परा, भाषा, भेषभुषाको विविधितायुक्त देश हो । संसारमा नेपालजस्तो विविधतायुक्त देश कुनै छ जस्तो लाग्दैन । यहाँ पूर्व क्षेत्रमा एउटा किसिमको भेषभुषा, भाषा, लवज, रितिरिवाज, चालचलन, परम्परा छ । पश्चिमतर्फ अर्कै । नेपालको माथिल्लो भाग (हिमाल) मा एउटा, किसिमको अल्लि तलतिर (पहाड) फरक । तराई मधेसमा फरकै किसिमको । त्यती धेरै टाढाको कुरा नगरौँ, वल्लो गाउँ– पल्लो गाउँ, तल्लो गाउँ–माथिल्लो गाउँमा समेत फरकपन देख्न सकिन्छ । यही त हो हाम्रो नेपाली भनेर गर्व गर्ने ‘चिज’ । कुनै बेला १ हजार जनाभन्दा धेरैको संख्यामा छन् भनिएका राउटे समुदायका नागरिकहरु पछिल्लो केही वर्षभित्रै घटेर १ सय ४६ जनामा मात्रै सिमित भएका छन् । राउटे समुदायको आफ्नै किसिमको भेषभुषा, भाषा, कला संस्कृती र रितिरिवाज छ । तर पछिल्लो समय यी सवै कुराहरुमा आक्रमण भइरहेको छ । जंगलमा बस्ने, काठका कोशी/मधुस बनाउने, मेसिनमा सिलाइएका कपडाहरु नलगाउने, आफ्नै भाषा बोल्ने, अरुसँग बोल्दा फरक लवजले बोल्ने, विवाहबारी आफ्नै समुदायभित्रमात्रै गर्ने, एउटा व्यक्तीको मृत्यु हुनासाथ अर्को ठाउँमा बसाई सर्ने, मुखिया प्रथामा संरचना सञ्चालन हुने भएकै कारण उनीहरु अन्य समुदायभन्दा फरक भए । अन्य समुदायभन्दा फरक भएकै कारण राउटेहरु ‘राउटे’ भए । सत्य यही त हो । यदी केही सरकारी संरचना र केही गैरसरकारी निकाय (एनजिओ) ले हामी जस्तै उनीहरुको जीवनशैली बनाइदिने हो भने उनीहरु र हामी बीच फरक के ?, अनि कसरी र कसलाई भन्ने ‘राउटे’ ?, राउटे ‘राउटे’ के एउटा विविधतायुक्त समुदायको अस्तित्व नाँसिदैन ?
हामीले चाहेको राउटे कस्तो हो ?, राउटेलाई हामीले चाहेअनुसार बनाउने कि उनीहरु आफैले चाहेजस्तो उनीहरुलाई बन्न दिने ? उनीहरुले चाहेजस्तो बन्न नदिने र हामीले चाहेजस्तो राउटेलाई बनाउने हो भने यसलाई भनिन्छ त लोकतन्त्र ? यसलाई नै भनिन्छ त स्वतन्त्रता ? पहिला हामीले यो कुरामा स्पष्ट होऔँ कि राउटे हाम्रो समस्या हो कि पहिचान हो ? समस्या हो भने कसरी हो ?, राउटेहरु कुनै बाध्यताबस् पीडित बनेर वनमा बसेको हो ? फिरन्ते जीवन बाध्यताबस निर्वाह गरेका हुन् ? उनीहरु हामीजस्तै गरी गृहस्ती चलाउन चाहँदैनन् । उनीहरु त्यसमै रमाउँछन् । राउटेहरुको गृहस्ती छुट्टै छ । हामीले दिएको महंगो कोटको उनीहरुलाई क्या मतलव ?, हामीले दिएका मेट्रेसको क्या महत्व ?, हाम्रो समाज हामीले चाहेको कस्तो हो ? राउटे सहित या राउटेरहित ? राउटे सहित हो भने उनीहरुको विशेषतालाई जोगाइराखौँ । यदी राउटे हाम्रो पहिचान हो भने हामी नेपालीको संस्कृतिको विविधतालाई मासेर किन हामी अपराध गर्दैछौँ ? अहिले राउटे समुदायमा बाहिरी समुदाय (हामी) ले विभिन्न बाहनामा साँस्कृतिक आक्रमण गर्दा समुदाय भाँडिसकेको छ । हाम्रो यहाँ जस्तै अन्य देशहरुमा पनि यस्ता समुदाय छन् । दक्षिण अफ्रिका, भारत, म्यानमार, बंगलादेश लगायतका देशमा नेपालका जस्तै जंगलमै बसोबास गर्न रुचाउने समुदाय छन् । ती समुदायको आफ्नै खालको पहिचान रहेको र विश्वभरका मानिसहरुको उनीहरु प्रतिको फरक धारणा तथा प्रश्नहरु छन् । केहि अनुसन्धानकर्ता तथा समाजशासस्त्रीहरु उक्त समुदायको अध्ययन गर्न पुग्ने गर्दछन् । अध्ययन गर्न हाम्रा राउटे समुदायमा पनि आउँछन् तर उनीहरुले मदिरामा मातेको अवस्थामा राउटेसँग भेट गर्नुपर्छ । उनिहरुलाई एउटा कुरा ओकलेबापत् एक बोत्तल मदिरा प्रदान गर्नुपर्छ । हामीले नै यस्तो बानी बसालिदियौँ । राउटेलाई कहिले हामी कोट लगाइदिन्छौँ । त्यो कोट बेचेर उनीहरु मदिरा किन्छन् वा त्यससँग साट्छन् । मेट्रेस दिन्छौँ, कम्बल दिन्छौँ केहीबेरमै राउटे समुदायमा सुपथ मूल्य पसल सञ्चालन हुन्छ । दिइएका सामग्री विक्री गर्न शुरु भइहाल्छ । अर्कोतर्फ मदिराले राउटे युवाहरु कमजोर भइसकेका छन् । उनीहरुको सामाजिक अस्तीत्व पनि संकटमा पर्न थालेको छ । मदिराकै कारण धेरै राउटे युवाको मृत्यु समेत भइसक्यो । केहि बेपत्ता पनि भएका छन् । कहिले विरामी परेर त कहिले मदिराकै कारण भीरबाट लडेर मृत्यु भएको छ । कतिपय बाँचेकै छन् तर मानसिक असन्तुलनको सिकार भएर । पुर्खादेखी गर्दै आएको पेशाप्रति चासो पनि छैन । जाँगर पनि छैन । के हामीले यस्तै परिवर्तन हो गर्न खोजेको ? उनीहरुको मौलिकतालाई मेट्दै जाने, समुदायलाई भाँड्दै जाने, काम गरिखानेहरुलाई मगन्ते बनाउने । के हामीले खाजेको परिवर्तन यही हो ? ‘कँही नभएको जात्रा हाँडिगाउँमा’ भने झैँ अहिले मान्छे हेर्न टिकट काट्नुपर्ने नियम बनायौँ । राउटे समुदाय भित्र प्रवेश गर्न अहिले शुल्क तिर्नुपर्छ । प्रवेश गरिसकेपछि प्रत्येक व्यक्तिलाई पनि तिर्नैपर्ने । तिरेको रकमले मदिरा खाने । मदिराले राउटेलाई खाने । यस्तै यस्तै गरी राउटे समुदाय सक्ने कति वर्षे योजना हो ?
मिति २०७६ असोज १ गतेको कुरा हो । सुर्खेत–धरमपोखरा सडक खण्डअन्तर्गत गुराँस गाउँपालिका वडानम्वर ५ बुवैराखे नजिक भारी वर्षाका कारण ठूलो गुराँसको रुख ढल्दा सडक अवरुद्ध भयो र सवारी साधन रोकिए । सवारीसाधन धनीमात्रै होइन । सवारीसाधनमा यात्रा गरेकाहरु पनि आत्तिँदै थिए । कति बेला रुख पन्छ्याइएला र सडक सुचारु होला भनेर । त्यत्तिकैमा राउटे युवाको एउटा हूल आइपुग्यो । उनिहरुसँग प्रसस्तै मात्रामा औजारहरु थिए । उनिहरुलाई सवारीधनी र यात्रुहरुले रुख काटेरै पन्छ्याइदिन अनुरोध गरे । हामीले पारिएको बानी त्यहाँ उनिहरुले प्रतिबिम्वित गरे । सवैले एउटा एउटा लिची नाम गरेको मदिरा किनिदिनुपर्छ भनेर राउटेको माग आयो । मूल्यका हिसावले निकै सस्तो रहेको त्यो मदिरा किन्न सवै जना किन्न राजी भए । त्यो हूलमा १२/१४ वर्ष पुगेका/नपुगेका र अन्य सवै थिए । केहीवेरमै राउटे युवाहरुले मदिरा पाए, पाए मात्रै होइन खाए । त्यसअघि नै सायदै कतैबाट मदिरा खाएरै आएका हुनुपर्छ । असर अलि बढी नै देखियो । जसरी रुख ढलेको थियो त्यसैगरी राउटे युवाहरु पनि ढले । अव भन्नुस् ढलेकाहरुले आफूलाई उठाउलान् या रुख ?, राउटे झुटो बोल्दैन भन्ने कथनलाई उनीहरुले जोगाउन सके त ?, अनि हाउडे भएनन् त ? पहिला रुपैयाँ छुँदा पाप लाग्छ भन्नेहरु नै रुपैयाँ पैसाको लालसा जनाउँछन् । रकम पैसाको लालसाले राउटे पुरुषमात्रै होइन महिलालाई पनि छोइसकेको छ । अझ अर्को कुरा अन्य समुदायबाट राउटे समुदायका महिला पनि असुरक्षित बन्ने स्थिति छ । तपाई हामीले स्वीकार गरौँ या नगरौँ राउटेलाई बिगारेको नै हामी ‘विचौलिया’ भएर नै हो । राउटे–राउटे भनेर निन्द्रामा पनि नाम जप्ने । मैले यहाँ उल्लेख गर्न मन नहुँदा नहुँदै उल्लेख गर्दछु । धेरैले बुढापाकाले भन्छन्, ‘राउटेको नाममा दलाल भएर धेरैले काम गरिरहेका छन् । कतिका घर चलेका छन्, कतिका अफिस् ।’ गुराँस गाउँपालिका ५ का एक बयोवृद्ध भन्न्नुहुन्छ, ‘राउटेलाई हामीले उहिलेदेखि जानेको हो । त्यो बेला संख्या धेरै थियो । आफ्नो काम गर्थे । आफ्नै समुदायमा रमाउँथे । जाँड रक्सी खाँदैनथे । अहिले जस्तै दिनहुँ संघसंस्थाका मान्छे पनि आउँदैनथे ।’ उहाँकै कुराबाट पनि धेरै कुरा प्रष्ट हुन्छ । बरु राउटे समुदायलाई स्थानिय सरकारमा प्रतिनिधित्व गराई राज्यको मूलधारमा ल्याउन प्रयास गरौँ । उनीहरुको सीप, कौशललाई उपयोग गरौँ । उनीहरुले बनाउने कोसी, मधुस लगायतका काष्ठकलालाई आधुनिक समाजसँग जोड्नेगरी कार्य गरौँ । सामग्रीको बजारिकण गरिदिऔँ । समुदायमा चेतनामूलक क्रियाकलाप गरौँ । आयआर्जन गर्न मागेर होइन, पौरख गर्नुपर्छ भन्ने धारणा राउटे युवाहरुको मन मस्तिस्कमा बसालिदिऔँ । स्वास्थ्य, शिक्षा सुधारबारे अभियान चलाऔँ । तर उनीहरुको संस्कार र संस्कृतिमा चोट पुग्ने काम नगरौँ ।

(लेखक दीपेन्द्र ओली हाल राउटे बसिरहेको गुराँस गाउँपालिका दैलेखका स्थायी बासिन्दा हुनुहुन्छ । साथै उहाँ एक सञ्चारकर्मीसमेत हो ।)